NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व द्वादशी - १२

अध्यक्षको सन्देश

अस्पताल विकास समिति अध्यक्षको तर्फबाट

ललितपुर जिल्लाको मुटु लगनखेलमा अवस्थित मानसिक अस्पताल नेपालकै एकमात्र केन्द्रीयस्तरको विशेषज्ञ सेवा प्रदान गर्ने अस्पताल हो। यस अस्पतालले साँचिकै महत्वपूर्ण र जनहितका सेवाहरू निरन्तर रूपमा प्रदान गर्दै आएको छ। हाल ५० शैयामा सञ्चालनमा रहेको यस अस्पतालमा दैनिक रूपमा सेवाग्राहीहरूको अत्यधिक चाप रहने गरेको छ।

यस अस्पताललाई चालु आर्थिक वर्षमै स्तरोन्नति गरी १५० शैयामा विस्तार गर्ने उद्देश्यले अस्पताल विकास समितिले यसअघि नै निर्णय गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वीकृतिका लागि पेश गरिसकेको छ। साथै, आ.व. ०८०/८१ को बजेटमा समेत अस्पताल स्तरोन्नतिको विषय समावेश भइसकेकाले स्तरोन्नति हुने कुरामा म विश्वस्त छु। स्तरोन्नतिपछि मागअनुसार सेवा प्रदान गर्न, गुणस्तरीय सेवा प्रवाह गर्न, सेवालाई अधिकतम रूपमा प्रविधिमैत्री बनाउन तथा देशकै सबैभन्दा ठूलो सुविधा सम्पन्न मानसिक अस्पतालका रूपमा विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न सके हामी सबै नेपालीका लागि यो गौरवको विषय हुने निश्चित छ।

अस्पताल विकास समितिको निरन्तर प्रयास, अस्पतालका निर्देशकज्यू, विशेषज्ञ चिकित्सकहरू, स्वास्थ्यकर्मीहरू, लेखा, प्रशासन तथा व्यवस्थापनमा खटिएका सम्पूर्ण कर्मचारीहरूको अथक मेहनत र परिश्रमका कारण अस्पतालबाट बाह्य तथा अन्तरङ्ग सेवा, २४ सै घण्टा आपतकालीन सेवा, मनोपरामर्श, फार्मेसी, प्रयोगशाला, रेडियोलोजी, स्वास्थ्य बीमा, सामाजिक सेवा इकाइ, आत्महत्या रोकथाम तथा नियन्त्रण कार्यक्रम, किशोर-किशोरी मानसिक स्वास्थ्य सेवा लगायतका अत्यन्त महत्वपूर्ण सेवाहरू दैनिक सयौँ सेवाग्राहीहरूलाई प्रभावकारी रूपमा प्रदान हुँदै आएका छन्, जुन अत्यन्तै गर्वको विषय हो। सेवालाई समयसापेक्ष तथा प्रविधिमैत्री बनाउन QR कोड तथा अनलाइन माध्यमबाट टिकटिङ/बिलिङ प्रणालीको व्यवस्था गर्ने कार्यसमेत भइरहेको छ।

अन्तमा, सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरू, सरोकारवाला पक्षहरू तथा नागरिक समाजबाट थप सहयोग र सुझावको अपेक्षा अस्पताल विकास समितिले सधैँ राख्दछ।

श्री जयकृष्ण पौडेल
अध्यक्ष
मानसिक अस्पताल विकास समिति